यसपाली हङकङमा साहित्यिक कार्यक्रमहरु अलि बाक्लै रुपमा भए । त्यो हङकङमा बसोवास गर्ने नेपाली स्रष्टा तथा नेपाली साहित्यप्रेमीहरुको लागि उत्साह कै कुरा हो । हुन त हङकङमा नेपाली साहित्यलाई उत्थान गर्ने हिसावले विगत दश बर्षअगाडी देखि नै संस्थागतरुपले नेपाली साहित्य प्रतिष्ठान हङकङ स्थापना भएर क्रियाशील भैरहेको छ । सोहि अनुरुप नेपाली साहित्य प्रतिष्ठान हङकङले बाषिर्क रुपमा साहित्य समृद्धिको लागि कविता गोष्ठि आयोजना गर्दै आएको छ । हाल आएर हङकङमा अन्य साहित्यिक संस्थाहरु पनि स्थापना भैसकेकाछन् । त्यस साहित्यिक संस्थाहरु मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टर पनि एक क्रियाशील साहित्यिक संस्था हो । तर यसपाली भने गैरसाहित्यिक संस्था पोखरेली युवा परिवार हङकङले नेपालका तिन बरिष्ठ कविहरु सरुभक्त श्रेष्ठ,तिर्थ श्रेष्ठ र प्रकट पगेनी शिवलाई हङकङ ल्याएर सशुल्क कविता वाचनको आयोजना सफलरुपले गर्नु ज्यादै उदाहरणीय काम भएको छ । त्यसो त यो कार्यक्रम भन्दा एक वर्षपहिले विसे नगर्चीका लेखक कवि श्रवण मुकारुङको सशुल्क कविता वाचन पनि यसरी नै सफल भएको थियो तर त्यसवेला अर्का आकर्ष व्यक्तित्व नयाँ राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला उर्फ प्रदीप कुमार रार्इ पनि थिए । तर यसपालीको त्रय कविहरुको सशुल्क कविता वाचन अत्याधिक सफल भएको महशुस यो कलमकार गरेको छ । किनकी उक्त कार्यक्रममा दर्शक तथा श्रोताहरुको उल्लेखनिय उपस्थितीले यहि कुरा वताउँदछ । अहिले नेपालमा गुरुकुलले मासिक रुपमा नेपालका चर्चित विभिन्न कवि कवियत्रीहरुको सशुल्क कविता वाचन गराउँदै आएको छ । तर गीत,कविता,मुक्तक,गजल आदि सशुल्क वाचन गराउँने पहिलो चलन पोखराबाट नै सुरुआत भएको हो त्यसैले यसको श्रेय पोखरेली स्रष्टाहरुलाई नै जान्छ । हाल आएर यसको निरन्तरता गुरुकुलले दिईरहेकोछ । हङकङमा सशुल्क कविता वाचन वाहेक पोखरेली युवा परिवारले हङकङ मै वसोवास गर्ने नेपाली स्रष्टाहरुलाई आकर्ष पुरस्कार सहितको प्रतियोगीतात्मक कविता वाचन गराएको थियो । जसमा कवियत्रीहरु रीता गुरुङ्ग र लक्ष्मी थापा राई पहिलो र दोस्रो भएका थिए भने कविहरुमा राजेन्द्र थापा, कमल पौडेल,चन्द्र मादेन आन्छन् क्रमश तेस्रो,चौथो र पाँचौ भएका थिए । यस्तो प्रकारको साहित्यिक कार्यक्रम गैरसाहित्यिक संस्थाले गर्नु प्रशंसनिय र सह्रनिय कुरा हो । जव गैरसाहित्यिक संस्थाले साहित्यका कामहरु गर्दै जान्छन् तव मात्र साहित्यले अझ वढी विकास गर्दै लैजाने सुअवशर मिल्दछ । साहित्यिक संस्थाहरुले त अवश्य नै साहित्य विकासको लागि जोड गर्दछ । यसपालीको साहित्यिक कार्यक्रम गैरसाहित्यिक संस्था पोखरेली युवा परिवार हङकङले गरे झैँ अन्य गैरसाहित्यिक संस्थाहरुले पनि होस्टेमा हैसे गरेर नेपाली साहित्यको विकासमा उल्लेखनिय योगदान पुर्याउँन सक्दछ । नेपालका वरिष्ठ त्रय कविहरु हङकङ आउँनु भएको वेला यहाँका साहित्यिक संघसंस्थाहरुले पनि समसामयिक नेपाली साहित्यको विषयमा अन्तरक्रिया तथा विचार गोष्ठि गर्ने विचार अवश्य नगरेका होईनन् । तर कविहरुको हङकङ वसाई छोटो र अन्य कार्यक्रममा व्यस्त हुनुपर्ने थाहा भएपछि औपचारीक कार्यक्रम गर्न पाईएन । तर त्यसको वावजूद पनि अनेसास हङकङ च्यप्टरले भने छोटो समयको लागि एउटा औपचारीक कविता यात्राको कार्यक्रम २००८ नोभेम्वर १५ का दिन विहानको समयलाई तय गर्यो । त्यो कार्यक्रमको लागि भने त्रय कविहरु सहमत भए । त्यसै अनुरुप हङकङमा सधै कामले व्यस्त रहनु हुने कवि कवियत्रीहरुले अलिकति समय निकालेरै छोडे । हङकङको पर्यटकिय स्थाल स्टार फेरीबाट सुभारम्भ भएको कविता यात्रामा हङकङ तथा नेपालका बरिष्ठ स्रष्टाहरु सहित पानी जहाजमा चढेर सेन्ट्रल हुदै यात्रालाई पीकट्रामको गाडीबाट माथी डाँडामा पुग्दा दिनको वाह्रवजि सकेको थियो । समयले दिनको खाना खाने वेला संकेत दिएकोले यात्रामा सम्मिलित सम्पूर्णले पेटपूजा गर्नको लागि म्याक्डोनाल्ड तिर पस्यौ । केहि समय चिया चमेनामा विताए पछि यात्रालाई बरिष्ठ कविहरुको साथमा साहित्यिक विचार र भावना साटसाट गर्दै पीक डाँडालाई फन्को मार्न र हङकङ टापूको दर्शनार्थ पैदल यात्रामा सरिक भयौं । केहि पर पीक भन्ज्याङ्गमा अनेसास हङकङ च्याप्टरले कविता गोष्ठिको आयोजना गर्ने निर्ण य गरेको थियो । सोहि वमोजिम उक्त स्थानमा पुगेपछि एउटा औपचारीक कविता गोष्ठिको सुरुआत गरियो जहाँ १७ जना स्रष्टा तथा श्रोताको उपस्थिति रहेको थियो । कार्यक्रम छोटो भए पनि हङकङ वसोवास गर्ने स्रष्टाहरु र त्रय बरिष्ठ कविहरुको कविता वाचनले पीक भन्ज्याङ्गको अनकन्टार ठाउँमा वेग्लै रौनकता छाएको थियो । प्रकृतिको सुन्दर कोखमा गरिएको कार्यक्रम सानै भए पनि भव्य थियो किनकी त्यहाँ नेपालका बरिष्ठ कविहरुको सुमधुर आवाजहरु गुन्जिएको थियो । त्यहाँ विभिन्न विचार र भावना समेटिएका कविताहरु वाचन गरिएका थिए । कविता यात्राको मज्जा भन्नु नै प्रकृतिको सुन्दरतासँग रमाउँदै कविता वाचन गर्नु हो । जहाँ सिर्सीरे वतास चराचुरुङ्गीको मीठो आवाज र रुखपातहरुको सुसाईसँगै कविता वाचनको मीठो लयहरु मिसीएर आउँने गुन्जनले साह्रै आनन्द दिलाउँछ । सायद तपाई पाठक पनि त्यहि छेउमा श्रोता भएर वस्ने मौका पाउँनु भएको भए झन कति मज्जा हुन्थ्यो सुनमा सुगन्ध झैँ । तर छुट्नु भयो होला समय अभावका कारण ठिकै छ तपाईको साटो हामीले नै तपाईको स्थानलाई ग्रहण गर्यौ । कविता वाचनको कार्यक्रम समाप्त भएपछि पीक डाँडालाई रिङदै त्रय बरिष्ठ कविहरुलाई हङकङ टापूको दृश्यपान गराउँने कार्यक्रम तिर जुट्यौ । पैदल यात्रामा कहि तस्विर खिच्दै कहिले हङकङ टापूको सुन्दर दृश्यहरु हेर्दै करिव एक घण्टामा सवैले पीक डाँडालाई फन्को दियौ । एक प्रकारले त्यो दिनको छोटो मिठो कार्यक्रम पनि एक फन्को कै थियो । त्यसपछि त्रय बरिष्ठ कविहरु अर्को कार्यक्रममा सरिक हुनुपर्ने भएकोले हामी सम्पूर्ण सहभागीहरुसँग विदा लिएर हिडेपछि हामीले पनि आआफ्नो वासस्थानतिर पाईला मोड्यौ । यसरी संयोगवस अनेसास हङकङ च्याप्टरले अविस्मरणीय कविता यात्राको आयोजना गर्ने सुअवशर प्राप्त गर्यो । यो एउटा साधारण प्रकारको कार्यक्रम भए पनि यसले हङकङे नेपाली साहित्य र स्रष्टाहरुको विच छुट्टै स्थान लिएको छ । कविता यात्रामा कविता वाचन मात्र नगरेर नेपाली साहित्य समृद्धिका विषयहरुमा पनि चर्चा गरिएको थियो । यसरी नेपाली साहित्य समृद्धि र विकासको लागि विदेशी भूमिमा रहेर थोरै भए पनि अनेसास हङकङ च्याप्टरले आफ्नो कार्य र कर्तव्य निभाउँदै आएको छ । त्यो कार्य मध्ये यो दोस्रो कविता यात्राको कार्यक्रम पनि प्रमुख हो ।
No comments:
Post a Comment