वैदेशीक रोजगारीको क्रममा सन १९९१को अन्तिम दिन अथवा डिसेम्वर ३१ तारिखका दिन मैले संयोवस दक्षिण कोरियाको भूमिलाई टेक्न पुगेको थिए । तत्पाश्चात झण्डै ५ वर्षको रोजगारी समयलाई भाँचेर सन १९९६ को अगष्ट महिनामा हङकङ हुँदै जन्मभूमि नेपालको काखमा सकुशल अवतरण गरियो । पहाडमा रहनु भएका परिवारजनहरुसँग महिना दिन विताए पछि पुन वैदेशिक रोजगारीकै निम्ति अन्य देश गएको भन्दा अलि फरक ढङ्गले आई.डी.को पुच्छर समातेर हङकङको उडान भरे । दक्षिण कोरियाको रोजगारीको क्रममा मैले सोचे जस्तै साहित्यिक माहौल नभएकोले होला त्यहाँको वसार्इमा दुर्इचार गीत कविताहरु लेख्न वाहेक अन्य खासै केहि लेख्न सकिएन । तर जव मैले हङकङलाई टेके तव साहित्यको लागि केहि न केहि काम गर्नु पर्छ भन्ने एउटा प्रतिवद्धता लिए । त्यहि प्रतिवद्धता अनुसार साहित्य लेख्ने द्रुतत्तर वढ्दै गयो । खास गरेर हङकङमा मैले नसोचेको साहित्यिक वातावरण पाए । किनकी हङकङमा म आउँनु भन्दा पहिले आई.डी. को पुच्छर समातेर आउँनु हुने थुप्रै स्थापित साहित्यकार मित्रहरु हुनुहुदो रहेछ । वहाँहरुको समीप्यताका कारण ओईलाई सकेको मेरो लेखन यात्राले पुनर्जिवन प्राप्त गर्यो । जस्ले गर्दा म यो स्थान ग्रहण गर्न पुगेको छु त्यो मेरो लागि गौरवशाली कुरा हो । हङकङको वेफुर्सदीलो समयलाई उपयोग गर्न र प्रतिवद्धतालाई पुरा गर्न अनेकौ वाध्यता र विवशतासँग लड्दै जुझदै भए पनि लेख्नेकामवाट पछि हट्ने कार्य गरिएन । धेरै थोरै वा राम्रो नराम्रो सवैलाई आत्मासाथ गर्दै समयले भ्याए जति लेखन कार्यमा जुट्ने गरियो र हाल पनि उक्त कार्यमा निरन्तर जुटि नै रहेको छु । कलम,विचार र भावनाको सम्वन्ध पनि वडो अनौठो प्रकारको हुँदो रहेछ । त्यो म दुइ दशकको अवधीमा अनुभव गर्दैछु । यिनै साधना र प्रतिवद्धतालेगर्दा रचनाहरु संग्रहको रुपमा निकाल्न पुग्ने भएछ । जस्ले गर्दा एउटा कविता संग्रह छपाउँने तयारीमा जुटेँ । त्यहि अनुरुप हङकङको पहिलो साहित्यिक संस्था नेपाली साहित्य प्रतिष्ठानको प्रकाशनमा कविता संग्रह छाप्ने तयारी भयो । तर हङकङमा नेपाली भाषाको छापाखाना नभएकोले कविता संग्रह छाप्नको लागि नेपाल नै जानु पर्ने स्थिति देखा पर्यो । त्यसको लागि केहि न केहि मेसो मिलाउँनु पर्ने भयो । किनकी हङकङवाट त्यहि कविता संग्रह छाप्नको लागि मात्र नेपाल जान सकिने कुरोपनि भएन । त्यसैले सोहि समयमा नेपालमा रहनु भएका परिवारहरुलाई भेट्न जानेमौका मिलाए । अन्तत काठमाडौको जात्रा सिद्राको व्यापार भने झैँ कविता संग्रहको पाण्डुलिपि लिएर छाप्नको लागि र घर परिवारसँग भेटघाट गर्ने हिसावले म नेपाल भित्रिए । नेपालमा कविता संग्रह छाप्नको लागि त्यति अनुभव नभएकोले दक्षिण कोरिया मै रहँदा चिनजान भएका साहित्यिक मित्र मनोजवावु आशयसँग सर्म्पर्क जोडे । वहाँ आफु व्यस्त भएकोले अर्का कवि मित्र उत्तर कुमार राईसँग परिचय गराई दिनु भएपछि कम्प्युटर टाईपिङ्ग,आवरण कला र भित्री अमूर्त कलाको लागि गुहारे । किनभने वहाँ यो कामको लागि केहि अनुभवि हुनुहुन्थ्यो त्यसकारण मेरो कामको लागि पथप्रदर्शन गराउँन विभिन्न ठाउँमा पुर्याउँनुभयो। तर उत्तर कुमार जी पनि जागीरेहुनु भएको कारणले मेरो काममा समय दिन सक्नु भएन । यहि छपाई कामको लागि सहयोग गर्न अर्का गीतकार व्याकुल माईलासँग भेट घाट गराई दिनुभयो । त्यति वेला व्याकुल माईला अध्यायनको क्रममा थिए र नयाँ राष्ट्रिय गानका रचनाकार पनि भएका थिएनन् । वहाँ आफै स्रष्टा र स्रष्टा कै लागि काममा सहयोग गर्न तत्पर हुनुभयो । त्यसपछि वहाँको सम्पर्कमा अर्का पत्रकार तथा कवि गणेश राईसँग पनि परिचय हुन पुगीयो । मेरो कविता संग्रह "युद्ध भित्र उभिएका वुद्धहरु" छाप्नको लागि अनेकौं पटक विभिन्न ठाउँमा कामको लागि पथप्रदर्शन गराउँने काम गर्नुभयो । मैले उक्त कविता संग्रह छाप्ने समयमा अरु दुइ कामहरु गर्नुपर्ने थियो । पहिलो चौविसे सेवा समाज हङकङको मुखपत्र "चौविसेका गोरेटाहरु" को प्रकाशन र दोस्रो काम थियो नेपालका वरिष्ठ साहित्यकारहरुसँग विदेशमा नेपाली साहित्यको गतिविधी वारेमा भिडीयो अन्तरवार्ता । तिन प्रकारको काम एकै पटक गर्न नभ्याईने भएकोले मेरै गाउँका मित्र लोकेन्द्र याखालाई मुखपत्रको लागि सारा काम जिम्मा दिए । र अरु दुइ कामको लागि व्याकुल माईला म नै खट्ने सल्लाह गर्यौं । मलाई साहित्यकारहरुसँग भेट्ने सर्म्पर्क शुत्र थाहा नभएकोले व्याकुल माईलालाई नै यसको लागि पनि माध्यम वनाए । उनले भेट्नु पर्ने साहित्यकारहरुसँग सर्म्पर्क गर्थे र मलाई समय तालिका मिलाएर त्यतातिर भेटघाटको लागि लैजान्थे । उनलाई भिडीयो क्यामरा चलाउँन त्यति अनुभ व नभएकोले वार्ताकारको भूमिका निभाउँन आग्रह गर्थे र सोहि वमोजिम वार्ताकारको भूमिका पुरा गर्थे । कहिले साँझ कहिले विहान कहिले भोकै कहिले तिर्खै गरेर काठमाडौको धुँवा धुलोको पर्वाह नगरी भिडीयो वार्ताको कामलाई तुर्यायौ । अन्तत वैरागी काईला,गोविन्दराज भट्टराई,परशु प्रधान,मोहन कोईराला,इश्वर वल्लभ,मञ्जुल र डायमण्ड शमशेर राणा आदि बरिष्ठ साहित्यकारहरुको विचारहरुलाई भिडीयोमा कैंद गर्न सफल भयौं । अन्य मित्रहरुले प्राय फोनबाट सरसल्लाह मात्र दिए तर व्याकुल माईलाले भने म सँग साथै हिडेर मेरो कामको लागि पछि हट्नु भएन । त्यति वेला वहाँमा एक प्रकारले अल्लारे जोस पनि थियो त्यसकारण वहाँको मुखमा हुदैन भन्ने शब्दै आएन । जे भने पनि जता जाउँ भन्दा पनि मसँगै लागेर हिडी दिन्थे । आफ्नै काम झैँ गरेर मेरो काममा खटि दिए पछि मलाई काम गर्न ज्यादै सजिलो भयो । जे होस् वहाँको अटुट सहयोगले दुइ काम समयमा नै पुरा भयो । अर्को मुखपत्रको लागि मित्र लोकेन्द्र याखाले काम गरिदिनु भएकाले त्यो पनि सजिलै तरिकाले पुरा भयो । त्यस अवधीमा मैले प्रकाशनको काम मात्र नगरेर घर परिवारसँग भेटघाट गर्ने काम पनि पुरा गरे । जन आन्दोलन पाश्चात तिनै मित्र व्याकुल माईला उर्फ प्रदीप कुमार राई नयाँ राष्ट्रिय गानका रचनाकार वनेर राष्ट्रको सौभाग्यशाली तथा गौरवशाली ब्यक्तिको रुपमा परिणत हुने मौका पाउँनु भयो । त्यो हामी सारा नेपालीको लागि खुशीको कुरा हो । जुनवेला म उनीसँग काठमाडौको धुलो उडाउँदै हिड्दा त्यस्ता ब्यक्ति वन्लान भनेर मैले सोचेको पनि थिईन तर समयले उनलाई युगपुरुष वनाई दियो । तर म भने यता हङकङमा वेल्चा गैति उचालेर भए पनि नेपाली साहित्य लेखन साथै समृद्धिको लागि समर्पित हुदै आएकोछु । गत वर्ष२००७ को मध्यतिर राष्ट्रिय गानको रचनाकार वनि सकेपछि हङकङमा सम्मान ग्रहण गर्न आउँनु भएको वेला मैले ती पुराना कुराहरु उप्काएको थिए । त्यसवेला हास्दै भने "दाई मैले पुराना कुराहरु भुलेको छैन है" र मेरो हालखवर साथै ती बरिष्ठ साहित्यकारहरुको भिडीयो वार्ताका वारेमा सोध्दै थिए । मैले पनि हास्दै भने " तपाई नयाँ राष्ट्रिय गानको रचनाकार वनेर राष्ट्रिय ब्यक्तित्व वन्नुभयो त्यसमा म साह्रै खुशी छु र मेरो तर्फाट वधाईछ "
No comments:
Post a Comment