साहित्यघर डटकमसँगको अन्तर्वार्ता

साहित्यकार बिश्वासदीप तिगेलाले ब्रिटेनबाट सञ्चालित साहित्यघर डटकम अनलार्इन पत्रिकाको लागि लिनु भएको टंक सम्वाहाम्फेको अन्तर्वार्ता
१. नेपाली डायस्पोराका एक सशक्त कवि, गीतकार, समाजसेवी टंक सम्वाहाम्फे वास्तव को हो ?
टंक सम्वाहाम्फे वास्तवमा सर्वसाधारण नेपाली नै हो । मात्र यति हो समय समयमा साहित्यको विभिन्न विधामा कलम चलाएर आफ्नो भावना र विचारलाई निर्भिक रुपले सर्वसाधारणको माझ प्रस्तुत गर्ने गर्छ । त्यसैले टंक सम्वाहाम्फे आफ्नै विचार र भावनाको मालीक हो जस्तो लाग्छ सम्वाहक जस्तो लाग्छ । वास्तवमा र्सवसाधारण नेपाली हो भनेर चाहि ठोकुवा दिनसक्छु । हुनत पाठकको दृष्टि र मेरो दृष्टिमा फरक हुन सक्छ किनभने दृष्टि आआफ्नै प्रकार हुन्छन् । आफुले आफैलाई म यस्तो हुँ भन्दा पनि अरुले औल्याई दिनु राम्रो हो जस्तो लाग्छ । मेरो जन्म २०२४ वैसाख ७ गते कोशी अन्चल धनकुटा जिल्ला कुरुले तेनुपा गा.वि.स.वार्ड नं. ५ भएको हो ।
२. तपाइका कृतिहरु के के हुन र तपाइको कलमले कुनकुन विधालाई समेट्छ ? फाल्टो अनलाइनमा काम गर्न कसरी समयको तालमेल मिलाइ रहनु भएको छ ?
हाल सम्म दुइ वटा कृतिहरु प्रकाशन गरेको छु । एउटा कविता संग्रह युद्ध भित्र उभिएका वुद्धहरु र अर्को आधुनिक गीतिसंग्रह सीडीमा मनोभाव हो । संयुक्त रुपमा अन्य तिन वटा कृतिहरु प्रकाशित छन् । हङकङका कथाकारहरुको कथा संग्रह यथार्थको चोइटा अर्को हङकङका कविहरुको कविता संग्रह हङकङमा कविता र हङकङ कै गीतकारहरुको आधुनिक गीतिसंग्रह प्रतीक हो । एउटा कविता संग्रह र लोकआधुनिक गीतिसंग्रह सीडीमा प्रकाशनको तयारी जुट्दै छु । खास गरी मेरो कलमले गीत,कविता,हाईकु ,कथा,यात्रा संस्मरण,लेख,निबन्ध आदि समेट्दै आएको छ । मुलत गीत र कवितामा मेरो कलम वढी केन्द्रित छ । फाल्टो अनलाइनको काम भने घरको र कामको समय चोरेर गर्ने गरेको छु । अनलाइनको लागि भनेर मेरो समय छैन । प्राय मेरो समय जिवन निर्वाहले सवै लगिदिन्छ । नेपाली साहित्यलाइ अनलाइनमा लानु पर्छ भन्ने मेरो मान्यता रहेकोले दुखसुख जे भोगेरै पनि यसो समय धेर थोर मिलाउछु । विचार र भावनालाई रोक्न नसकिने भएकोले कति सम्म भ्याईन्छ त्यसलाई कहिले आफ्नो लेखनमा भने कहिले अनलाईनमा समयलाई वाडेर लगानी गर्दै आईरहेकोछु ।
३. हङकङमा राम्राराम्रा र धेरै साहित्यकारहरु हुनुहुन्छ के यो सुन्दर स्थान हुनुको दोष -फल हो ?
हङकङमा सवै भन्दा पहिले साहित्यको वीउ रोप्ने अवधारणा मैले नै ल्याएको हुँ । त्यस पछि औपचारीक रुपले हङकङ आएर वस्नु हुने साहित्यकार मित्रहरुसंग मिलेर नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापना गरेका हौ । यो हङकङको पहिलो साहित्यीक संस्था पनि हो । यसले हङकङमा साहित्यलाई उर्वर गराउने काम गर्यो र गर्दै आईरहेछ । साथै हङकङ रहनु हुने साहित्यकारहरुलाई पनि यस संस्थाले परार्इभूमिमा मातृत्वको ममता दियो र दिदै आएको छ । यसै कारणले पनि हङकङमा साहित्य जोड्ने काम निकै त्रि्र भएको हो । हङकङमा राम्रा र धेरै साहित्यकारहरु हुनुहुन्छ भन्दा निक्कै गौरव लागेर आउछ । किनकी म पनि हङकङलाई नै साहित्य जोड्ने कर्मथलोको रुपमा स्विकारेको छु र लेख्दै आएको पनि छु । यहा धेरै भन्दा पनि साहित्यको वाद देखि आन्दोलनका प्रवर्तकहरु समेत हुनुहुन्छ । संख्याको हिसावमा झण्डै दुइ दर्जन जति छौ । त्यसो त नेपालमा कविता लेखेर तहल्का मच्चाउने साथीहरु पनि हङकङमा हुनुहुन्छ । यसो हुनु यो सुन्दर स्थानको दोष त पक्कै छैन फल नै भन्नु पर्छ ।
४. तपाई नेपाली साहित्य प्रतिष्ठान, हङकङका अध्यक्ष हुनुहुन्छ संक्षेप भन्दिनुहोस प्रतिष्ठान अहिले के गर्दैछ ? हङकङको साहित्यिक गतिविधिको बारे संक्षिप्त जानकारीहरु के के छन ?
नेपाली साहित्य प्रतिष्ठान, हङकङको अध्यक्ष भएको हैसीयतले अनलाइनमा कविता,गीत,गजल,हाइकू आदि प्रकाशन गर्ने कार्य प्रत्येक दिन गरीरहन्छु मेरो समयले भ्याए जति । पहिले मासीक रुपले अविराम भन्ने पत्रीका नेपाली साहित्य प्रतिष्ठान, हङकङले प्रकाशन गर्थ्यो तर समय परीवर्तीत भएको कारणले हाल अनलाईन व्लग मार्फ विश्वव्यापी संजालमा नेपाली साहित्यलाई फैलाउने कार्यमा जुटी रहेकोछ । यस वाहेक अन्य चार पुस्तकहरुमा युद्घ भित्र उभिएका वुद्घहरु कवितासंग्रह,छरीएको सिंदूर कथासंग्रह,त्यान्द्रो उपन्यास र यथार्थका चोइटाहरु संयुक्त कथासंग्रह समेत प्रकाशन गरी सकेको छ । हङकङमा नेपाली साहित्य श्रीवृद्धिको लागि आठवर्षदेखि निरन्तर नेपाली साहित्य प्रतिष्ठान, हङकङले काम गर्दै आएको छ । हङकङमा साहित्यिक गतिविधि निक्कै राम्रो छ किनभने समय समयमा साहित्यिक कार्यक्रमहरु हुने गरेकाछन् । नेपाली साहित्य प्रतिष्ठान, हङकङले अझै राम्रा राम्रा कृतिहरु प्रकाशन गर्दै लैजाने योजनाहरु राखेको छ । र अहिले पनि नेपाली साहित्य प्रतिष्ठान, हङकङले तदारुक्तका साथ साहित्यकर्म साथै साहित्यकारलाई प्रोत्साहन गर्ने कार्य गरीरहेको छ ।
५. तपाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङको महासचिव पनि हुनुहुन्छ, साहित्यको लागि उर्वर भूमि हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै अनेसास आवश्यकता किन पर्‍यो ? अनेसासको केन्द्रिय कमिटी संग कस्तो तालमेल हुन्छ ?
हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै पनि हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टर खोलेका हौ किनभने हामी हङकङमा मात्र सिमीत नरहेर अन्तर्राष्ट्रिय साहित्य समन्वय कायम गर्ने हेतुले यसो गरेका हौ । यसको मतलव हङकङका स्रष्टाहरु अन्तर्राष्ट्रिय रुपले परिचीत हुन् वा चिनीउन भन्ने हो । त्यसैले हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै पनि हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरको आवश्यकता महसुस गरेका हौ र त्यहि अनुरुप स्थापना भएको पनि हो । अनेसासको केन्द्रिय कमिटी संगको तालमेल राम्रै नै छ । हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरका अध्यक्ष अनेसासको केन्द्रिय कमिटीको सदस्य समेत हुनुहुन्छ ।
६. मोफसलका साहित्यकारहरु काठमाडौं केन्द्रित साहित्यबाट हेप्पिएको महशुस गर्छन, तपाईपनि मोफसल झै टाढा हुनुहुन्छ के तपाइलाई ओझेलमा परेको महशुस हुदैन ?
पहिले चाहिँ हेप्पिए झै ओझेलमा परे झैं लाग्थ्यो आजभोलि भने त्यस्तो हुन वा लाग्न छाडेको छ । किनभने भने अनलाईन सञ्जालले गर्दा सञ्चार माध्यम आफ्नै हातमा आईपुगेको छ । कसैले केहि नगरी दिए पनि आफुले आफ्नै काम गर्न सकिने दिन आएको छ । अनलाईन सञ्जालवाट आफ्नो सिर्जना हरेकको घर घर सम्म सहजै पुर्याउन सकिने अवस्था वनेको छ । त्यसैले पहिलेको जस्तो सिर्जना कपीमा मात्र सिमीत हुने दिन गए । नेपालमा पनि इन्टरनेटको सञ्जाल वढेर गाउ सम्म पुगेको छ । दिन प्रति दिन नेपाली साहित्यले इन्टरनेट सञ्जालमा स्थान पाउदै गएको छ । र इन्टरनेट सञ्जालको प्रयोगकर्ता पनि दिनानु वढ्दै जानुले साहित्यको पाठक पनि निश्चय नै वढे कै छन् जस्तो लाग्छ । जस्ले सिर्जना फस्टाउने कुरामा निर्विवाद छ । यदि इन्टरनेट सञ्जाललाई प्रयोग गर्न जानियो भने अव लेखक कहिल्यै ओझेलमा पर्दैन । इन्टरनेट सञ्जालले मोफसल र केन्द्र भन्ने कुरा नै भत्काई दिएको छ । जहा वसेर जसरी पनि आफ्नो रुचि अनुसारको साहित्य पाठकहरुले अध्यायन गर्न पाउछन् भने लेखकले पनि चाहे अनुसारको सिर्जना सम्प्रेषण गर्न सक्छ । तसर्थ मलाई ओझेलमा परे झै लाग्दैन यो नया प्रविधीहरुको सहयोगले ।
७. काब्यिक आन्दोलनहरु धेरै आएका छन् वास्तवमा किन सबै आन्दोलन सफल हुदैन्न ?
काब्यिक आन्दोलनहरु धेरै आएका छन् वास्तवमा त्यो सहि कुरा हो तर कति आन्दोलन सफल पनि भए भने कति असफल । ती सवै समयले निर्धारण गर्ने कुरा हुन अर्को कुरा आन्दोलन कर्तामा पनि निर्भर पर्दछ । किनभने समय वलियो र परीवर्तित हुन्छ । कुनै पनि काब्यिक आन्दोलनहरु समय सापेक्ष भएनन् भने त्यो असफल भएर जाने कुरा हुन् । तर त्यो काब्यिक आन्दोलन असफल भए पनि त्यसले केहि न केहि नया कुरा भने दिएर जान्छ । किनभने आन्दोलन नया कामको लागि गरीन्छ । परीवर्तनको लागि गरीन्छ । आन्दोलन सफल नहुनुको कारण विभिन्न हुन सक्छन् तर प्रमुख भने समय नै हो जस्तो लाग्छ । किनभने पशुप्राणीले समेत समयको परीवर्तनसंगै सीलस्वभाव आहार र वासस्थान परीवर्तन गर्दै लैजान्छन् । त्यसरी नै काब्यिक आन्दोलनलाई पनि समयको परीवर्तनसंगै परीवर्तन गर्दै लगिएन भने विफल हुदै जाने कुरा हो त्यसैले परीवर्तीत समयको प्रत्यक्ष असर रहन्छ काब्यिक आन्दोलन विफल हुनुमा ।
८. तपार्इ लिम्बू परिवारको नेपाली साहित्यकार हुनुहुन्छ वास्तवमा लिम्बूहरुलाई किन चाहियो लिम्बूवान स्वायत्त राज्य ?
लिम्बू परिवारको नेपाली साहित्यकारलाई लिम्वूवान नचाहिने कुरै आउदैन किन भने लेख्ने वोल्ने माध्यम मात्र नेपाली हो तर लेखक भने लिम्वू नै हो । लिम्वूहरुलाई लिम्बूवान यस कारणले चाहियो कि लिम्वूवान आफ्नै आमा भएरकोले चाहिएको हो । आमा विनाको नानीहरु कति विचल्लीमा पर्छन् त्यसरी नै हामी लिम्वूहरु विचल्लीमा परेकाछौ सदियौ देखि । वल्ल आफ्नी आमासंग वस्न पाउने भएकाछौ । त्यसैले त लिम्वूवानको आन्दोलन आजभालि चर्किएर गएको हो । के गर्ने यहाका शासकहरुले आफ्नी आमालाई पाउनको लागि पनि आन्दोलन छेड्नु पर्ने परिस्थितीको सिर्जना गरी दिएकाछन् । अर्को कुरा कुनै पनि जातिको भाषा संस्कृति भेषभुषा आदि वचाउनको लागि अरु भाषी लागेर पक्कै हुदैन । तसर्थ लिम्वूभाषा संस्कृति भेषभुषा मात्र होईन लिम्वू जाति वचाउन समेत लिम्वूहरु लागि पर्नु पर्ने भएकोछ । यिनै वास्तविकतालाई बाच्न र बचाउनको लागि नै लिम्वूवान स्वायत राज्य चाहिएको हो । लिम्वूवानको विकास र स्वशासनको लागि लिम्बूवान स्वायत्त राज्यको आवश्यकता भएको हो । पहिले लिम्बूवान स्वायत्त राज्यको अस्तित्व नरहेको होईन तर शाहवंसीय राजाहरुले लिम्बूवानलाई खतम वनाउन चाहेका हुन तर पुन लिम्बूवान व्युझिएको छ लिम्वूवानवासी लिम्वूहरुको माझ । त्यसैले अव लिम्वूवान स्वायत राज्य कुनै दिन स्थापना भएरै छाड्छ मात्र त्यो समयलाई धैर्यताका साथ प्रतिक्षा गर्न सक्नु पर्यो । र आन्दोलनलाई शसक्त ढङ्गले वढाउन सक्नु पर्यो ।
९. धनकुटाले तपाइलाई जन्मायो, धनकुटाबाट पखेटा लागेर यहाँ सम्म आइपुग्नु भएको छ । तपाइसंग जन्म जिल्लाको लागि केही योजना छ की ?
आफ्नो गाउँठाउँ जिल्लालाई सक्दो क्षमताले भ्याए जति योगदान दिएर विकास गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ । किनभने त्यो आफ्नै जन्म स्थान हो अथवा आमा भने पनि हुन्छ । त्यसैले आमाको सेवाको लागि भनेर केहि योजना मैले वनाएको छु तर अहिले नै र्सार्वजानिक भने नगर्नु नै राम्रो ठानेको छु । किनकी त्यो वोलेर मात्रै हुदैन गरेर देखाउनु पर्ने हुन्छ । जुन वेला त्यो योजना गर्न सक्षम हुन्छु त्यसै वेला मात्र म मेरा योजनाहरु खुलासा गर्छु हाललाई भने योजनाको खाका वनाउन मै सीमीत रहेको छु ।
१०. आखिर तपाइलाई यी साहित्य, संगीत र समाजसेवाले के दियो ?
साहित्य, संगीत र समाजसेवाले टंक सम्वाहाम्फेलाई एक प्रकारले राम्रो र उच्च स्थान दिएको छ । किनकी त्यसैले उसलाई दुनियाको सामु चिनाएको छ । साधारण टंक सम्वाहाम्फेलाई आफ्नो पहिचान साहित्य, संगीत र समाजसेवाले वनाई दिएको छ । वरु टंक सम्वाहाम्फेले अझै साहित्य, संगीत र समाजलाई धेरै कुरा दिन सकिरहेको छैन भन्ने लागिरहेको छ । अरु धेरै दिन वाकी नै छ जस्तो लाग्छ र छ पनि किनभने साहित्य, संगीत र समाजसेवामा टंक सम्वाहाम्फे अझै यात्रारत नै छ । कुनै निश्चित विन्दुमा पुगी सकेको छैन ।
११. अन्तमा अनलाइन नेपाली साहित्य मंच मार्फत पाठकहरुलाई के भन्न चाहनु हुन्छ ? मैले सोध्न बिर्सीएका र तपाइले भन्नुपर्ने कुनै कुरा भए भन्नुहोला ?
सर्वप्रथम अनलाइन नेपाली साहित्य मंचका सञ्चालकहरुलाई धन्यवाद दिन चाहान्छ । किनभने म जस्तो साहित्यको खुड्किलो उक्लिदै गरेको साहित्यकर्मीलाई भर्याङ लगाएर पाठकहरुको माझ सोझै पुर्याउने काम गर्नु भएको छ । पाठकहरुलाई म के भन्न चाहान्छु भने सक्दो राम्रा राम्रा साहित्यको परीकार पस्काएर आईरहने वाचा गर्दछु । सोध्न बिर्सीएका कुरा खासै केहि छैन भन्नु पर्ने थुप्रै कुरा छन् त्यसलाई विभिन्न रचना मार्फत विस्तारै म अवश्य भन्दै जानेछु ।

No comments: