परिवेश,सृजनशीलता र टंक सम्वाहाम्फे

योगेन्द्र दाहाल
नेपाली साहित्यको मध्यकालीन इतिहासमा 'अदभूत रामायण' नामक कृति लिएर श्री रमाकान्त वराल धनकुटा जिल्ला कुरुले तेनुपाको तर्फबाट हाजिर रहनु भयो । लेखनाथकालीन परिस्कृत आधुनिक नेपाली साहित्यसंगै स्वच्छन्दवादी साहित्य यात्राको नाममा अराजकता पनि आउन नखोजेको अवश्य होइन । ठीक यसै मुहुर्तमा २०१८ ताका ' नेपाली भजनमाला ' नामक कृति दिएर कुरुले तेनुपाको तर्फबाट आधुनिक नेपाली कविता यात्राको पूर्वाद्धमा श्री अग्निप्रसाद वराल पुग्नु भयो । नेपाली साहित्यको कविता यात्राको आधुनिक वर्तमानतामा आइपुग्दा कुरुले तेनुपाको साहित्यिक पूँजीको हकमा टंक सम्वाहाम्फे तेस्रो उपस्थिती हो । ' यद्ध भित्र उभिएका वुद्धहरु ' कुरुले तेनुपा काव्य यात्राको तेस्रो श्रृङ्खला हो । यस कृतिमा एकचालिस वटा कविता शिखरहरु श्रृङ्खलित छन् ।
भन्ठान्थे,पुगस पुगेस आर्थिक जीवनको झन्झावातबाट थोरै माथि उठ्ने अभि प्रायले टंक सम्वाहाम्फे कोरिया गए हङकङ गए । विदेशी परिवेशको तुमुल कोलाहलमा समायोजित होला, विलाउला उनको श्रृजनशीलता । तर त्यसो भएनछ । विदेशबाट त उनी झन् 'यद्ध भित्र उभिएका वुद्धहरु' पो लिएर आउछन् । विदेशी झिलिमिलिमा नेपाली कवित्व झाँगिन पो थालेछ । गैरनेपाली स्थिति भित्र फष्टाएको यो नेपाली काव्य यात्रा नै कवि सम्वाहाम्फेबाट हाम्रो साहित्यले पाउने उपलब्धि हो ।
यदि शुक्रवारे भन्ज्याङमा सल्लाका वोटहरुसंग हावा सुसेली खेल्दा र चराहरु वोल्दा कविता भावको झंकार हुन्छ भने त्यो हङकङ रहने टंक सम्वाहाम्फेको ढुकढुकी हुँदोरहेछ । यदि जरुवा खोलाको पानीमा कलकलको कुनै स्वर सुन्न सकिन्छ र त्यसमा लय छ भने त्यो सम्वाहाम्फेको सम्वेदना हुदोरहेछ,यदि झुल्के घामले हिमालमा लालिमा पोतेको वेला त्यो दृश्यको कुनै अर्थ प्रकाश हुन्छ भने त्यो यी कविको भाव तरलता हुदो रहेछ । हामी यहा वस्नेहरुको मन वसेको माटोले, यहाका हाफ्ना गुरासहरुले र वुकी फूलहरुले छुन सकेनन् तर टाढा वसेका सम्वाहाम्फेको मन नेपाली साहित्य प्रति सृजनहीलता वनिरह्यो । सृजना कहिल्यै कतै मर्दोरहेनछ । "ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल" भनेर माधव घिमिरेले लेखेको सत्य रहेछ ।
कुरुले तेनुपाको एउटा साधारण परिवारमा जन्मेका कवि सम्वाहाम्फेको साहित्य सृजनामा शुरु कालदेखि नै रुचि राख्ने युवक थिए । उनको कवित्वको उत्पति र विकासमा नितान्त उनीमात्र आफ्नो भूमिकामा एक्लैछन् । पारिवारिक संगतले उनको कवित्व शक्तिको प्रस्फुटन र विकास खासै योगदान गर्यो होला जस्तो मलाई लाग्दैन । त्यसैले कवि सम्वाहाम्फेको काव्यात्मकताको पृष्ठभूमिमा वुकी फूलहरुको सुगन्ध पाइन्छ,जरुवा खोलाको कलकल पाइन्छ,भन्ज्याङको सुसेली पाइन्छ । स्वतस्फूर्त रुपले उनको कविता यात्रा प्रारम्भ हुन्छ । अव आजको चर्चाको सीमा भित्र आउन चाहान्छु ।
"युद्ध भित्र उभिएका वद्धहरु"भन्ने शीर्षक प्रतीकात्मक छ । आजको संसारमा प्रवल जिजीविषा लिएर उभिएका मान्छेहरु संघात हमलाबाट कतिखेरै पनि निमेष मृत्यु मर्न सक्छन् । सवै युद्धरत छन् । आपसमा सवै एकार्काप्रति प्रतिकूल छन् । मृत्यु भय भोगी रहेकाछन् । वुद्धले मुखले मात्र हैन हृदय देखि नै शान्ति चाहेका थिए । जतिखेर पनि योद्धाको रुपमा उभिएको आजको मान्छे युद्ध विभीषिकाबाट ग्रसित छ,कुण्ठित छ । वुद्धले शान्ति बमभित्र होइन मनभित्र रहनु पर्छ भनेका थिए । शान्तिको श्रोत वन्दूक होइन प्रेम र सद्भावना हो भनेका थिए । कवि सम्वाहाम्फे वुद्धको यहि सन्देशको खाचो अनुभव गर्छन् ।
कविले भोगेको विद्यमान परिस्थिति वास्तव मै विरोधाभाषी छ । यदि यो स्थिति समाल्ने हो भने वुद्धको शान्तिलाईकार्य स्वरुप प्रदान गर्न सक्नुपर्छ । भातृत्व प्रेमभाव जागृत रहनुपर्छ । देखावटी समाप्त हुनुपर्छ । वम वोकेर शान्ति चाहाने विरोधाभाषी मानव स्वभाव परिवर्तन हुनु पर्छ भन्ने कविको निष्कर्ष आहृवान छ । आजको पेचीलो स्थितिलाई कविले ब्यंग्य हानेकाछन् । मानवको जिजीविषा माथि प्रश्न चिन्ह उठाएकाछन् । सवैलाई वन्धु व्यवहार गर्न र शान्तिका परेवाहरु उडाउन आहृ वान गरेकाछन् । मान्छे व्वासाहरु देखि सावधान रहन सुझाव दिएकाछन् ।
कवितामा छायावादी प्रतीकवादी संयोजन राम्रै मिले जस्तो लाग्छ । विम्वहरु तीखा र प्रष्ट छन् । आयामेली वस्तसता र सम्पूर्णता तथा भाव तरलता कविलाई मन पर्नथाले जस्तो छ । भूमिकामा पनि आयामेली वौद्धिकताका प्रखर व्यक्तित्वको उपस्थितिले कृतिलाई गौरवशाली वनाउन वाकी राखेको छैन ।
कृतिको भौतिक पक्ष सुन्दर छ । पढु पढु लाग्ने छ । भावचित्रहरुले कविता पंक्तिहरुमा थप उर्जाको रुपमा पाठकको कल्पना शक्तिलाई जागृत गरेकाछन् । कवि समकालीन सत्यता तिर प्रष्टछन् । सवै खाले युद्धलाई समाप्त गर्ने वा पूर्णविराम गर्ने र भातृत्व प्रेमले संसारलाई एउटै वनाउने कवि सम्वाहाम्फेको सदिच्छा पूरा होस् । सृजनशील भएर कवि निरन्तर सृजनामा वोली रहुन् । हाम्रो शुभेच्छा ।
यो समीक्षा प्रस्तुत कृतिको तीसौं कविता प्रति समर्पित - समीक्षक
२०५७ / १२ / १० कुरुले तेनुपा ९

No comments: