अग्निप्रसाद बराल
आकस्मत योगेन्द्र दाहालले कवि टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका वुद्धहरु शीर्षक कविता संग्रह हातमा दिँदै भोलि वि.सं.२०५७ चैत्र ११ गते एक व्यक्ति कविता वाचनमा भाग लिन जाने निमन्त्रणा समेत दिँदा मेरो वृद्धत्वबाट कठ्याङ्ग्री सकेको साहित्यिक सहृदयता साहित्य सुधाको शेचन पाई पुनर्ःउर्वराउन लागेको अनुभव भयो र हत्तपत्त कविता संग्रहका कविताहरु सरसरि हेर्ने जमर्को गरे ।
भौतिक सुविधाद्वारा विपन्न भएर पनि प्राकृतिक सुन्दरताद्वारा अति सम्पन्न कुरुले तेनुपामानै जन्मनु हुर्कनु भएका सम्वाहाम्फेसंग आजसम्म सम्बन्ध सम्पर्क नहुनु आफ्नु आफैँमा दुर्भाग्य ठान्दै कविता संग्रहमा भएका सामग्री हरुद्वारा नै एकलौटी चिनाजानी गरी २,४ शब्द कोर्न मन लागिहाल्यो ।
पहरो फुटेर पानीको फोहोरा निस्कनु ढुङ्गा फोरेर पीपल उम्रनु ,सुख्खा जमीनमा गुलाफ फूल्नु जस्तै धनकुटा जिल्लाको कुरुले तनुपा गाउको परिवेशमा जन्मिएको यो सम्वाहाम्फे साहित्यिक बिरुवा यहाको नै वातावरण र जन्मभूमिको नै शैली,माया ममता बोकेर कसरी हङकङ,कोरियामा गएर बढ्यो फूल्यो र सो सुगन्ध यही देशमा र्छर्दैछ ,देशका सपूतहरुको कृत्यमा आर्श्चर्य लाग्दो नभए पनि माया लाग्दो,टीठ लाग्दो र आफैँमा गर्व गरिनु योग्यता छ नै ।
प्रस्तुत कविता संग्रहमा भौतिक र अध्यात्महरुका विकृतिहरुमा प्रसस्त तारो हान्न खप्पिस भएका कवि आफैँमा यथार्थवादी,मानवतावादी हुनुको साथै देश प्रेमको उर्लदो वाढीलाई आफैँमा संगालेर प्रस्तुत भएकाछन् । संग्रहको पहिलो कवितामा मान्छे हुनुको प्रमाण पत्र ओढेर भनेर मान्छेले आफूलाई प्रमाणिक मान्छे वनाउँन खोजेकोमा उपहासको झटारो हान्नेसाथैकविलेदुनियाँको नाटकमा अध्यात्मको आड लिदैँ नैतिकता नछोड्न औँला ठड्याउन पुगेकाछन् । आकास मान्छे र ब्वासाहरुमा मानव मात्रका फोहोरी व्यवहारको यथार्थरुपमा चित्रण गर्न कवि पछि परेका छैनन् । ४१वटा कविता अमृतहरुलाई समिश्रण गरेर एक चत्वारिँसामृतको सिर्नना गर्दै युद्ध भित्र उभिएका वुद्धहरुमा संसारमा पञ्चशीलको शान्ति,सन्धि एकपट्टी अर्कापट्टी परमाणु हतियारको आविष्कार,युद्ध मोर्चामा तैनाथ सैनिकहरुको मनस्थिति कस्तो हुन्छ होला,उनीहरुको भावनालाई कुल्चिएर महलमा बस्ने नेताहरु कसरी शान्तिको मुखुण्डो लगाएर युद्ध विभीषिकामा मानिसहरुलाई धकेलिरहेकाछन् । शान्तिको के अर्थ हुन्छ -यो कुराको यथार्थचित्रण गर्दै कवि साधु विरालाहरुको भनौरीमा नलाग्न आग्रह गर्दछन् । वुद्धको सिद्धान्तको अपहेलना गर्ने नेताहरुले ओढेको शान्ति मुखुण्डाको कविले सहज सरल ढङ्गले उपहास गर्न प्रस्तुत कवितामा चुकेका छैनन् । कृतिम ब्रहृमाजीहरुमा पुग्दा अध्यात्मवादको मुखुण्डो लगाएर मनपरी गर्ने स्वाठहरुलाई तर्साउन पुगेकाछन् कविजी ।
देशमा लालीगुराँसको महत्व बनाएर हङकङ बसेका कविले देशप्रेम पाठ पढाएकाछन् । सरसरि भन्ने हो भने आफ्ना कवितामा कवि आफैँ ओतप्रोत भएकाछन् यी कविता पढ्दा मलाई अघि केटाकटीमा सुनेको कुनै कविको कविता याद आयो -
कवि कविता होस् कविता कवि होस्
कविता तव पो हुन्छ ।
शब्द थुपारीकन के हुन्छ ।
भाव भए पो हुन्छ ।
यहाँ कवि नै कविता र कविता नै कवि भएकाछन् शब्दाडम्वरमा कन्जूष भाव पक्षमा उदार भएकाछन् । अन्त्यमा यो साहित्य समाजको शेचन र कुरुले तेनुपाले देशकै साहित्याकासमा जगमगाउँने ज्योति बन्नेछ भन्ने आशा लिदै साही कुराको शुभकामना समेत अर्पण गर्दै विदा चाहन्छु ।
कवि सम्वाहाम्फे र युद्ध भित्र उभिएका वुद्धहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment